काठमाडौं । नेपालमा मनसुन शुरु भएको केही दिनमै देशको पूर्वी क्षेत्रमा बाढी र पहिरोले जनधनको व्यापक क्षति हुन थालेको छ । केही दिनदेखिको वर्षा, वाढी र पहिरोले संखुवासभा, पाँचथर र ताप्लेजुङमा गरी २६ जना बेपत्ता भएका छन् भने एकजनाको शव भेटिएको छ ।
संखुवासभामा गएराति आएको बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन् ।
यस्तै बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको भने शव फेला परेको प्रहरीले जनाएको छ । पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको शव पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ।
यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना बेपत्ता भएका छन् । पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरका अनुसार हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता भएका छन् ।
यस्तै बाढीले हेवा खोलामा रहेका तीनवटा पक्की पुल र एउटा झोलुंगे पुल पनि बगाएको छ । जसले गर्दा मेची राजमार्ग अवरुद्ध छ भने भेडेटार निस्किने सडक पनि बन्द भएको छ ।
त्यस्तै ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका छन् ।
त्यस्तै खोला छेउमा घर भएका मेहेलेकै भरत तामाङ ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ ।
मेहेले स्वास्थ्यचौकीको भवन पहिराले बगाएको छ भने विभिन्न व्यक्तिका घर पनि जोखिममा परेका छन् ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । वाढी, पहिरोबाट भएको र त्यसले पारेको प्रभाव तथा उद्धारका लागि टोली परिचालन भइसकेको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।
यसैबीच आज पनि कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । ‘गत चौबीस घण्टामा ताप्लेजुङको दोभान स्टेसनमा ५५.२ मिलिमिटर र ताप्लेजुङ स्टेसनमा ५१ मिलिमिटर वर्षा मापन भएको छ, यो भनेको भारी वर्षा हो,’ मौसमविद लामिछानेले भने, ‘आज पनि कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।’
अन्त भारी वर्षाको सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिएका छन् ।
जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।
सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले प्रभावित क्षेत्रमा आम समुदायसँग सहयोगको अपिल पनि गरेका छन् ।