काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा गएको बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।
सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले प्रभावित क्षेत्रमा आम समुदायसँग सहयोगको अपिल पनि गरेका छन् ।
वर्षायामको सुरुवातमै शनिबार रातिको अविरल वर्षापछि देशको पूर्वी क्षेत्रमा गएको बाढी र पहिरोमा २६ जना बेपत्ता भएका छन् । अहिलेसम्म प्राप्त विवरणअनुसार संखुवासभामा गएराति आएको बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएका छन् ।
यस्तै पाँचथरमा बाढीले बगाएर ५ जना र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् ।