फिदिम । अविरल वर्षासँगै गए राति आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हेवा खोलामा आएको बाढीमा परेर फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिएका छन् ।
पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिवश कुँवरका अनुसार बाढीले बगाउँदा जिल्लाका हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम नगरपालिका–५ का ५५ वर्षीय राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता छन् ।
बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।
यस्तै याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ तर क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।