सङ्खुवासभा । हेँवा खोलामा शनिवार राती आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ भने १७ जना सम्पर्कविहीन छन् । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको र शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको स्थानीयले बताएका छन् ।
बाढीले चैनपुर ४ मा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोमा पुर्णरुपले क्षति पुगेको वाना प्रहरी चौकी प्रमुख टिकाराम राईले जानकारी दिएका छन ।
उक्त परियोजनामा काम गर्ने १७ मजदुरहरू सम्पर्क विहीन रहेको राईले जानकारी दिएका छन् । उनका अनुसार खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी छ ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।