काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा मुद्दाको पेशी तोकिएको छ ।
टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा निवेदन दिएकी हुन्। सो दिन समय अभावका कारण दर्ता नभएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएको हो।
रिटमा उत्प्रेषण परमादेश बदरको माग गरिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गणतन्त्र दिवस २०८० को अवसर पारेर जेलमा रहेका चौधरीको बाँकी कैद सजाय माफी मिनाहाका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेपछि चौधरी थुनामुक्त भएका हुन्।
यसअघि अदालतबाट दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका चौधरीलाई सरकारले आममाफी दिएर थुनामुक्त गर्न खोजेपछि प्रहरी निरीक्षक केशवकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएर चौधरीलाई थुनामुक्त नगर्न माग गरेकी थिइन् ।




















