काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना दिइरहेका छन् । शुक्रबारबाट काठमाडौंको माइतिघरमा आयोजित धर्ना कार्यक्रमलाई विभिन्न राजनीतिक दल, नेता, बुद्धिजीवी, संघ, संस्थाले ऐक्यबद्धता जनाउने क्रम बढिरहेको छ ।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्नेलगायतका माग राख्दै आयोजित धर्नालाई बिज्ञान शिक्षक समाज नेपाल (Science Teacher’s Association Nepal (STAN) ले समर्थन जनाएको छ ।
आइतबार ऐक्यबद्धताका लागि माइतिघर पुगेका समाजका केन्द्रीय सचिव मनोज आचार्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारमार्फत नवउद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनु पर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाउनुपर्ने जस्ता पुनका माग सरकारले अविलम्ब पूरा गर्नुपर्ने धारणा राखेका छन् ।

त्यस्तै समाजका केन्द्रिय अध्यक्ष खिलकुमार प्रधानले पुनले राखेका माग पूरा नभएसम्म र आन्दोलन जारी रहँदासम्म आफूहरुको ऐक्यबद्धता जारी रहने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक परे हजारौ शिक्षक उतार्ने चेतावनी दिएका छन् ।
महावीर पुनले सुरु गरेका कामप्रति आफुहरुको सदैव सहयोग रहने बताउँदै अध्यक्ष प्रधानले बिद्यालयमा प्रयोगशाला निर्माण र विज्ञान शिक्षामा राज्यको लगानी बढाउनु पर्ने धारण राखेका छन् ।
त्यस्तै राज्यको विवेक जगाउनका लागि पुनले सुरु गरेको धर्ना निकै महत्वपूर्ण रहेको समाजका बागमती प्रदेशका पूर्व संयोजक युवराज निरौलाले बताएका छन् । ‘राज्य कमजोर भएपछि नागरिक नै अघि सर्नुपर्ने देखिएकाले पुनको दवाव कार्यक्रम अत्यन्त सान्दर्भिक र आवश्यक थियो’ निरौलाले भने ।

यसैबीच पुनले उठाएका माग सम्वोधन गर्न सरकार पनि सकारात्मक बनेको छ । आइतबार रक्षामन्त्री पूर्णबहादुर खड्काको पहलमा वार्ता भएपनि निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुने भएको छ ।
आइतबारको वार्ता मौखिक रुपमा सहमति नजिक पुगेको र सोमबार लिखित रुपमा सहमति हुनसक्ने वार्तामा सहभागीहरुले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने चितवनमा पत्रकारहरुसँग कुरा गर्दै महावीर पुन सरकारको सल्लाहमै धर्नामा बसेको बताएका छन् ।

























