काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए ।
उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए ।
उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए । उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए ।
नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको उनको भनाइ छ ।
पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनाउँदै उहाँले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको बताए । निजी क्षेत्रका समस्या समाधानको पहल भएको जनाउँदै उनले देशको एकतालाई सुदृढ गर्नेमा सरकार सक्षम रहेको बताए ।
आफू छिट्टै छिमेकी देशमा भ्रमणमा निस्कन लागेको जनाउँदै उनले उक्त भ्रमणमा नेपाली जनताका केही मुद्दा पुरा गराउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।