काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरु आफूले देखेको सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले नागरिकमा ठूलो छटपटाहट, दिग्दारी र आक्रोश देखिएको बताए ।
उनले मानिसहरुको मनमा सिर्जना भएको चञ्चलताको समाधान बेलैमा हुन नसके देशले झनै समस्या भोग्ने बताए । महामन्त्री थापाले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार, राजनीतिक दलहरु गम्भीर बन्नुपर्ने बताए ।
उनले कोही पनि मानिसलाई आफ्नो सपनाको मलामी जान मन नलाग्ने भन्दै सपनाको मलामी जानुपर्दा मान्छे दिग्दार, आक्रोशित र वाक्क हुने बताए ।
नागरिकहरुमा अहिले अस्थिरता आउनु भनेको आफ्नै सपनाको मलामी जानुपर्ने अवस्था सिर्जना भएको जिकिर गरे । महामन्त्री थापाले नागरिकले सरकारबाट आशा र विश्वास गुमाइसकेको बताए ।
महामन्त्री थापाले वैशाख मसान्तसम्म पार्टी भ्रातृ संगठनहरुको विभाग बनाउने र पूर्णता दिने काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।