काठमाडौं । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् । उनले अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि बताए । उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे ।
सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद विघटन गर्छ भनेर पनि प्रश्न गरे ।
उनले काँग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने कुरा अभिव्यक्त गरेकोमा काँग्रेस ब्युँझिएको टिप्पणी गरे । उनले काँग्रेस नेतृत्वमा सरकार बन्नु संवैधानिक अधिकार भए पनि काँग्रेसले सो अधिकारको प्रयोग गर्न नसकेको बताए । उनले अहिले काँग्रेस आफ्नो हैसियतमा नरहेको बताए ।
सचिव भट्टराईले देशमा तमाम समस्याहरु भए पनि नेपाली काँग्रेस रमिते बनेर बसिरहेको बताए ।