बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लामो संघर्ष र बलिदानीबाट ल्याएको लोकतन्त्रनै सिध्याउन विभिन्न शक्तिहरु लागेको आरोप लगाएका छन् ।
शुक्रबार बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष केसीले मुलुक अस्थिरतातिर गइरहेको बताए ।
स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्थामा कुनै परिवर्तन नआएको बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले सत्ताको लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरु यतिबेला सकाउने खेलमा लागेको बताए । गाउँमा बस्ने सर्वसाधारणलाई गणतन्त्र आएर केही फरक नै पार्न नसकेको अध्यक्ष केसीको भनाइ थियो ।
उनले अहिलेको राजनीति विकृत बन्दै गएको बताए । राजनीति गर्नेहरुले देश र जनताको लागि नभई आफ्नो स्वार्थका लागि गर्ने गरेको भन्दै यसले कुनै पनि हालतमा आमनागरिकको जीवनमा परिवर्तन ल्याउन नसक्ने दाबी गरे ।




















