काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिँदै गर्दा नेविसंघका नेताबीच कुटाकुट भएको छ।
संस्थापन समूह र संस्थापनइतर समूहबीच झडप भएको हो । झडकका क्रममा सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा तोडफोड भएको छ । तोडफोडबाट कार्यालयमा सामान्य क्षति पुगेको छ। सीसा,ल्यापटप लगायतमा क्षति पुगेको छ।
नेवि संघका नेता विनोद शाही ठकुरीले संस्थापन समूहले एकलौटी गरेकाले विवादको अवस्था सिर्जना भएको बताए । इतरसमूहका नेता शाहीले समयमै पार्टीले भातृ संस्थालाई पूर्णता नदिएकाले विवाद उत्पन्न भएको बताए।
नेवि संघको बैठक टौदह रिसोर्टमा थियो । बैठकपछि असन्तुष्ट इत्तरसमूह पार्टी कार्यालय पुगेर तोडफोडमा उत्रिएको हो । घटनामा शिव रिमाल, हरि आचार्य, डा.श्यामचन्द्र अधिकारी घाइते भएका छन्।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतरपक्षको आरोप छ। शेर्पाले त्रिविमा केन्द्रीय प्रतिनिधिका रुपमा पदम भट्टराईलाई तोकेका थिए । कोइराला समूहले पनि त्रिविमा प्रविण कैनीलाई प्रतिनिधिका रुपमा खटाएको थियो ।
विवाद समाधान भइसकेपछि केही व्यक्ति प्रवेश गरी आक्रमण गरेको शेखर समूहका एक विद्यार्थी नेताले बताए ।




















