काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल गिरफ्तार गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ ।
रामेछापका माओवादी द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण र सुर्खेतका पूर्णप्रसाद पौडेलले मानव अधिकार आयोगमा निवेदन दर्ता गरेका हुन् ।
निवेदनमा माओवादी सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षबाट घाइते, अङ्गभङ्ग, यातना पाएका, बेपत्ता पारिएका, यौनजन्य हिंसामा परेका, सम्पति कब्जामा परेका, चल सम्पत्ति लुटपाट भएका, विस्थापितलगायतका पीडितको जिम्मा प्रचण्डले लिनुपर्ने उल्लेख गरिएको छ ।
२०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आफूले पाँच हजार मान्छे मारेको जिम्मा लिने बताएका थिए । उनी आफैंले हत्या स्वीकार गरेकाले तत्काल गिरफ्तार गरी आवश्यक अनुसन्धान एवं कानून बमोजिम कारबाहीका लागि आवश्यक पहल गरिदिन निवेदनमा माग गरिएको छ ।




















