काठमाडौँ । मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् । नेपाली चलचित्र ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ ।
भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी अदितिले धेरै नेपाली फिल्मको अफर स्वीकार गरिनन् । ‘म हतारमा फिल्म गर्ने सोचमा थिइनँ । कोरोना महामारीका कारण पनि ‘प्रोजेक्ट’ ढिला भएको हो । सुहाउँदो भूमिका आएमा काम गर्नेछु’, उनले भनिन् ।
उनी नेपालबाटै मोडलिङको शुरुवात गरेर भारतस्थित मुम्बईमा काम गरिरहेकी छन् । नेपालमा एक विज्ञापनमा काम गरेपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’ मा मोडलिङ गर्ने प्रस्ताव आएको थियो । त्यसयता उनी मुम्बईमै मोडलिङ गरिरहेकी छन् ।
‘मैले मुम्बई वा नेपाल भनेर काम गरिरहेकी छैन । जहाँ मलाई प्रस्ताव गरिन्छ, बुझेर काम गर्ने गरेकी छु’, उनले भनिन् ।
नेपाली चलचित्र उद्योगको ‘वर्किङ कल्चर’प्रति भने उनको असहमति छ । उनी भन्छिन्, ‘हामीकहाँ अझै व्यावसायिकता कम छ । काम पूरा नगर्न बहाना बनाउन पाइन्छ । त्यसले ‘सेड्युल’ लाई असर गर्छ ।’
काममा पूर्णरूपमा समर्पित भएर नलागेसम्म त्यसले गतिलो नतिजा नदिने उनको बुझाइ छ । उनले डेब्यु फिल्ममा छायांकनका लागि पटक–पटक नेपाल आउँदा काम नभएपछि फर्किनुपरेको गुनासो गरिन् । यही कारण पनि दोस्रो फिल्म उनले होम प्रोडक्सनकै गर्नुप¥यो । ‘म बाहिरी प्रोडक्सनमा पनि काम गर्न तयार छु । दुई फिल्मले मलाई वर्किङ कल्चर बुझाइरहेको छ’, अदितिले भनिन् ।