काठमाण्डौं । निर्वाचन आयोगले विद्यमान प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल आगामी असोज १ गते राति १२ बजेदेखि स्वतः सकिने स्पष्ट गरेको छ ।
आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावसमेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि स्वतः सकिने आयोगले निर्णय गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, सङ्घीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दललाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको आज प्रेस विज्ञप्ति जारी गरी बताएका छन् ।




















