काठमाडौँ । बिहीवार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो । पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यी विधेयकहरु पारित भएको घोषणा गरे । राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो कुराहरु राखेका थिए । सो अवसरमा सांसदहरुले डेंगु नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरेका थिए ।
शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले जनताको समस्या लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेट्न गए पनि भेट नदिएको भन्दै गुनासो गरे । उनले सांसदहरुलाई बाहिर कुराएर भेट नदिनु राम्रो नभएको भन्दै मन्त्रीहरुको ध्यानाकर्षण गराए । उनले भने– ‘भौतिक पूर्वाधार मन्त्रीको कार्यकक्षमा सांसदहरु जनताको समस्या लिएर गएका हुन्छन् । घण्टौँ सम्म उहाँहरुले बाहिर कुराउनुहुन्छ, भेट दिनुहुन्न । भित्र विभिन्न किसिमका मान्छेहरुको आवत–जावत हुन्छ । यसरी सांसदहरुलाई जनताको समस्या लिएर गएका सांसदहरुलाई यो खालको व्यवहार हुनु राम्रो हुन्न । म सबै मन्त्रीज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’
राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि किटनाशक औषधिहरु छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि सरकारले गरेको पहल जानकारी गराउन पनि माग गरे । उनले भने– ‘देशमा एउटा रोगकै रुपमा डेंगु फैलिएको छ । डेंगुलाई निराकरण गर्नका लागि खालि पानी जम्न नदिने भनेर मात्रै पुग्दैन । त्यसलाई किटनाशक औषधीहरु छरेर रोग निराकरणका लागि पहल होस् भन्ने म ध्यानाकर्षण गर्न चाहन्छु । मिटरव्याजी पीडितहरुको समस्या समाधानका लागि के पहल भयो यो सदनमार्फत जानकारी हुनुपर्छ ।’
राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले पनि डेंगु नियन्त्रणमा सरकारले ध्यान नदिएको बताइन् । उनले डेंगु नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन् ।
राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले ठगी केसमा संलग्न मानिसलाई राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षले भगाएको समाचार आएको उल्लेख गर्दै उनीप्रति निलम्वन गरी छानबिन गर्न माग गरे । उनले भने– ‘भिआईपी कक्षबाट ठगी केसमा संलग्न मान्छेलाई राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षले भगाएको भन्ने चर्चामा आएको छ । तर उहाँलाई निलम्वन गरी छानबिन गरिएको सुन्न पाइएको छैन । सम्बन्धित निकायले यो बारेमा ध्यान देओस् ।’
राष्ट्रियसभा सदस्य मदनकुमारी साह गरिमाले भाद्र २४ गतेको वर्षाका कारण दार्चुलाको महाकाली नदीमा आएको बाढीमा पाँच जनाको निधन र दश जना बेपत्ता भएको जानकारी दिँदै बाढी पीडितलाई उद्धार, राहत र क्षतिपूर्ति दिलाउन माग गरिन् । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले बुटवलमा भारतीय सीमाबाट बाबाजीको भेषमा मानिसहरु आएर बच्चा अपहरण गरेको अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले स्वास्थ्य बीमा गराएपनि सरकारी अस्पतालमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको भन्दै यसको व्यवस्थापन गर्न माग गरिन् ।
राष्ट्रिय सभा सदस्य सुरेशकुमार आले मगरले बाढीपहिरो, डेंगु र कोरोनाबाट सिर्जित समस्या समाधानका लागि सरकारले विशेष कदम चाल्नुपर्ने बताए । राष्ट्रिय सभाको आगामी बैठक भदौ ३१ गते शुक्रवार दिउँसो १२:५९ बजे बस्ने गरी बोलाइएको छ ।




















