काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टी भित्र गाह्रो भइरहेको बताएका छन् ।
अध्यक्ष नेपालले नगरे पनि हुन्थ्यो नि भन्नेहरुले पनि निर्वाचनमा टिकट लिनका लागि चर्को दाबी गरिरहेको उल्लेख गर्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको गुनासो गरे ।
बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै उहाँले उठेर दुई कदम पनि हिँडन नसक्ने बुढाहरुले समेत टिकटको आकांक्षा चर्कोरुपमा गर्दा समस्या भएको बताए ।
अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउने हो भने बेहोस् हुने हो कि भन्ने आफूलाई लागेको पनि बताए । उनले भने, ‘अव मंसिर ४ गते चुनाव हुन गइरहेको छ । सबैलाई टिकट चाहिएको छ । अव टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । नगरे पनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दावी गरिरहेका छन् ।
उठेर दुई कदम हिँड्न सक्दैन बिचरा बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँस्न पाउँ । के होला, कस्तो गाह्रो ? अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराए ।




















