काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन् ।
यसअघि मंगलबार अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए ।
ली चान्सुले हरेक नेतासँगको भेटमा नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चिन्ता व्यक्त गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चारदिने नेपाल भ्रमणमा ली नेपाल आएका हुन् ।
रुस, मंगोलिया हुँदै नेपाल भ्रमणमा आएका अध्यक्ष ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र सीपीसीको तेस्रो वरीयतामा रहेका छन् । चीनका राष्ट्रपति सीले २०७६ असोज २५/२६ मा गरेको राजकीय भ्रमणपछि लीबाट दोस्रो ठूलो उच्च तहको भ्रमण भएको हो । सी २३ वर्षपछि नेपाल भ्रमण गर्ने चीनका राष्ट्रपति हुन् ।
चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनः निर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
अध्यक्ष लीको नेतृत्वमा ६ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी बिहीबार बिहान विशेष विमानबाट स्वदेश फर्कनेछन् ।




















