काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनमा आयोगले तोकेको खर्चको सीमा हेरफेर नहुने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थपलियाले खर्चका सीमाका बारेमा बिभिन्न टिकाटिप्पणी सुनिएको भन्दै यसमा आयोगले कुनै हेरफेर नगर्ने स्पष्ट पारेका छन् । नेपालको निर्वाचन प्रणाली महङ्गो भयो भन्नेहरु नै खर्चको सीमामा असन्तुष्ट देखिएको उनले बताएका छन् ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनमा दलले भाग लिने भएकाले उम्मेदवारहरुको खर्च पनि सवै दलले नै व्यहोर्ने व्यवस्था भए झन उचित हुने जिकिर गरेका छन् । निर्वाचन क्षेत्र, मतदाता र मतदान केन्द्रका आधारमा उम्मेदवारको खर्चको सीमा तोक्ने गरी खाका तयार गरिरहेको उनले बताए ।
त्यस्तै उनले आचारसंहिताप्रतिको बुझाई सत्तामा रहदा वा नरहदा फरक हुने देखिएकाले समस्या हुने गरेको धारणा राखेका छन् । उनले मन्त्री मात्रै नभई कोहि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले पनि निर्वाचन प्रचार गर्न नपाउनेमा आयोग प्रष्ट रहेको बताएका छन् । निर्वाचन आचारसंहिता उलंघन गरेको प्रमाण फेला परे आयोगले आवश्यक कारवाही गर्ने उनले बताएका छन् ।
त्यस्तै उनले आगामी निर्वाचनमा राजनीतिक दलले ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने गरि निर्वाचन ऐन संशोधन प्रस्ताव तयार गरेको जानकारी दिएका छन् । बैठकमा समिति सदस्यहरुले निर्वाचन खर्च, प्रचारप्रसार लगाएतका बिषयमा आयोगले गरेको व्यवस्थाका बारेमा ज्ञिसासा राखेका थिए ।



















