काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताए ।
सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन ।
उनले एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगाएतको बिकास हुने बताएका छन् । आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने पनि उनले बताए । अध्यक्ष ओलीले अहिलेको निर्वाचन समान्य निर्वाचन नभएको र देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको धारणा राखेका छन् ।
उनले पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप लगाउँदै अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन नहुने उल्लेख गरेका छन् ।
ओलीले अवको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने समेत बताएका छन् ।
जनकपुरमा आज आयोजित अर्को एक कार्यक्रममका बीच जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि र प्रदेश सभा सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रतिनिधि सभा सदस्य रुही नाज र प्रदेश सभा सदस्य अञ्जुकुमारी यादव एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका दुबै जसपाका केन्द्रीय सदस्य पनि हुन् ।
यस्तै, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्व राज्यमन्त्री अरबिन्द साहसहितका पनि एमाले प्रवेश गरेका छन् ।
जनकपुरधाममा भएको कार्यक्रममा उनीहरु सबैलाई एमाले अध्यक्ष ओलीले माला तथा गमछा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।



















