काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।
आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा पदयात्रा आयोजना गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो ।
उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा शुरू हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले वसन्तपुरमा संक्षिप्त सम्बोधन गरेपछि कार्यक्रम समापन गरिने एमालेले जनाएको छ ।
सो कार्यक्रमलाई भव्य बनाउन आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा तयारी बैठक बसेको थियो ।
बैठकमा पार्टीका उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक सङ्घर्षपछि नेपाली जनताले संविधान सभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यस बर्ष पदयात्रा आयोजना गर्न लागिएको जानकारी दिए ।
संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ ।




















