बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धनका दलहरुले सिट भागबण्डामा पशुपतिका बाँदरको जस्तो व्यवहार देखाएको टिप्पणी गरेका छन् ।
बुटवलमा शनिबार पार्टी निकट प्राध्यापकहरुसंगको अन्तर्क्रियामा नेता पौडेलले गठबन्धनका दलहरुमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको टिप्पणी गरे ।
उनले भने- ‘गठबन्धनका दलहरु सिट भागबण्डामा पशुपतिका बाँदर जस्तै देखिएका छन्।’ पौडेलले अगाडि भने, ‘पशुपतिमा कसैले खानेकुरा दियो भने जसरी बाँदरहरु एउटाले अर्कोलाई झुक्याएर खोसेर लिन्छन्, गठबन्धनमा पनि अहिले त्यस्तै छ ।’
उपाध्यक्ष पौडेलले आफूले बढी सिट हात पार्न माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेससंग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको टिप्पणी गरे । ‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्’, पौडेलले भने, ‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ, उनीहरुले सगौरव लात खानुपर्छ ।’
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न नसकेर गठबन्धन गर्नुपरेको स्वीकार गरिसकेको उल्लेख गर्दै नेता पौडेलले यसबाट एमाले नै देशको सबैभन्दा बलियो शक्ति भएको पुष्टि भएको बताए ।