काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले १६ जिल्लाका २४ सिट नपाए गठबन्धनबाट बाहिरिने स्पष्ट गरेको छ । अध्यक्ष उपेन्द्र यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सीट र पहाड तथा सहरमा समेत गरी २४ सीटको माग गरेका हुन् ।
यादवले सम्मानजनक सीट नपाए जसपा एक्लै चुनाव लड्ने स्पष्ट गर्दै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
जसपाले मधेसमा एक्लै लड्दा पनि १२ सीट जित्ने भन्दै गठबन्धनमा त्यो भन्दा तल झरेर सीट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरु एमाले तथा अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा देखेका यादवले कार्यदलमा रहेका जसपाका नेताहरू रामसहाय यादव र रकम चेम्जोङलाई पार्टीको बटमलाइनभन्दा तल नझर्न निर्देशन दिएको बताइएको छ ।
यादवले स्थानीय चुनावको आँकडा समेत पेस गर्दै मधेसमा आफ्नो पार्टी कांग्रेस–एमालेको हाराहारीमा रहेको बताउँदै मधेस प्रदेशमा कम्तिमा १५ सीट पाउनु पर्ने दाबी गरेका छन् ।
त्यस्तै प्रदेश १ को मोरङ, सुनसरी र धनकुटामा एक–एक सीट दाबी गरेको जसपाले वागमतीको काठमाडौंमा एक सीट, लुम्बिनीको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक–एक सीट दाबी गरेको छ । गण्डकी र कर्णालीमा भने प्रतिनिधिसभातर्फ दाबी गरेको छैन ।



















