काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी छन्।
मंगलवार राष्ट्रिय सभाको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षागार्डप्रति अमानवीय व्यवहार गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् ।
उनले मन्त्रीको यस्तो व्यवहार अस्वीकार्य हुने बताइन्। राईले जनताले तिरेको करबाट सेवा सुविधा लिनेहरु जनताको शासक नभई सेवक भएको बताइन् । सांसदहरुले विधि बनाउने भन्दै उनले विधि उल्लंघन गर्ने पनि उनै विधि बनाउनेहरु नै भएको टिप्पणी गरिन् । यस प्रकारको घटना पुनः नदोहोरियोस् भन्न उनले सरकारको ध्यानाकर्षण पनि गराएकी छन्।
उनले भनिन्- ‘जनताले तिरेको करबाट सेवा, सुविधा लिने हामी जनप्रतिनिधि र मन्त्री, प्रधानमन्त्री, सरकारका सबै अंगहरु जनताका सेवक हुन् । शासन होइनन् । दुई दिन अगाडि मात्रै हो, एकजना मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदाखेरी एउटा गार्डप्रति गरेको अमानवीय व्यवहार एकदमै धेरै अस्वीकार्य छ । यो कुरालाई स्थापित गर्नुपर्छ । यो एकजना गार्ड र मन्त्रीको मात्रै कुरा होइन। विधि बनाउने हामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा एउटा श्रमिकलाई पाँच दिन थुनामा राख भनेर थुनामा राख्ने पनि हामी यो भएन । यसलाई सरकारले तुरुन्तै ध्यान पु्र्याओस् ।’




















