काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका पदाधिकारीसंगको भेटका क्रममा मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनसंगै मुलुकको आधारशिला बलियो बनेको भन्दै अव मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउनुपर्ने दायित्व सवैको रहेको धारणा राखेका छन् । त्यस्तै मन्त्री कार्कीले अहिलेको गठबन्धन कसैको बिरुद्ध लक्षित नभएर मुलुकको बिकास र समृद्धिको लागि आवश्यकता भएको जिकिर गरेका छन् ।
मुलुकलाई अहिले राजनीतिक स्थीरता र संविधान र लोकतन्त्रको रक्षाका निमित्त गठबन्धन अपरिहार्य भएको उनको भनाई छ । त्यस्तै कार्कीले आगामी १० बर्षभित्र मुलुकलाई विश्वकै धनि देशका रुपमा परिचित गर्नका लागि एकताबद्ध भएर मुलुकको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।



















