काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्नु राष्ट्रपतिप्रतिको अपमान हुने बताएका छन् ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै गौतमले राष्ट्रपतिले पुनःविचारका लागि पठाएको नागरिकता सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गरी पठाउनु राष्ट्रपति पद प्रतिको अपमान हुने बताएका हुन ।
‘म यसलाई पास गर्नुपर्छ। फर्काउनुपर्छ। जस्ताको त्यस्तै पठाउनुपर्छ। भन्ने विषयलाई मैले मेरो विचार यो छ भनेर भन्दिनँ। तर म भन्न चाहन्छु कि जस्ताको त्यस्तै पठाउने काम अहिलेको राष्ट्रपतिको अपमान हो’, उनले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश बेठिक नभएको बताउँदै गौतमले विधेयकको पुनःविचार गरिनु पर्ने बताएका छन् ।
‘सबै विषयहरू अत्यन्त ग्रहणिय छन्। शिक्षा लिने किसिमका छन्। जस्ताको त्यस्तै पठायौँ भनेर गौरव गर्ने विषय होइन, यसमा ख्याल गर्नुपर्छ। पुनर्विचार गर्नुपर्छ,’ गौतमले भने ।
गौतमले विधायन व्यवस्थापन समितिले नागरिकता विधेयकलाई जस्ताको त्यस्तै राष्ट्रिय सभामा पठाएकोप्रति असन्तुष्टि जनाउँदै सन्देशको एक एक जवाफ समितिले दिनुपर्ने भन्दै त्यसो नगरेर बौद्धिकतामाथिको हमला भएको बताए ।



















