काठमाडौं । आगामी ४ मंसिमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका सत्ता गठवन्धनभित्र पटकपटक छलफल भएको छ । कार्यदलले प्रयास गर्दा सफल हुन नसकेपछि शीर्ष नेताहरुलाई नै मिलाउन आग्रह गरेको थियो । शीर्ष नेताहरुबीच छलफल पछि पुनः त्यसको जिम्मेवारी समितिलाई दिइएके छ ।
भागवण्डा टुंगोमा पु–याउनका लागि आज कार्यदलको बैठक बस्न लागेको छ । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बीच सिट वाँडफाँटका लागि प्रयास भईरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्टिय जनमोर्चाले २ सिटमा दावी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।
साउन २० गते बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वमा ११ सदस्यीय कार्यदल छ । कार्यदलमा नेपाली कांग्रेसबाट सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।
माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।



















