काठमाडौँ । नेपाली कांग्रेसका नेता, सांसद तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ ।
घाँटीको क्यान्सरबाट पीडित गिरीको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा गए राति निधन भएको हो । गिरीको आजै अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिए ।
अन्त्येष्टिअघि पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेता गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
नेपालका सबैजसो राजनीतिक आन्दोलनमा सहभागी गिरी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत रहेका थिए ।




















