काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँमा रहने ग्यारेन्टी नभएको बताएका छन् ।
कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनमा उनले अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि पनि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको बताए ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरण नै गरे पनि पछि अलग भएको स्मरण गर्दै उनले यो चुनावपछि पनि त्यस्तै हुन सक्ने बताएका हुन् ।
चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि चुनावअघि नै तालमेल गर्ने पार्टीको निर्णय भएकाले मान्नुपर्ने थापाले बताए ।
पार्टीका कतिपय नेताहरूले निर्वाचनपछि तालमेल गर्ने कि नगर्ने भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन भनेपछि पार्टीको निर्णय मानेको थापाले बताए ।
चुनावअघि तालमेल गर्दा दलहरुबीच न्यूनतम विषयमा भने साझा धारणा हुनुपर्ने महामन्त्री थापाले बताए ।
‘तालमेल गरेर एक ठाउँमा बसेको छ, प्रत्येक विषयमा चाहे विदेश नीतिको विषय आयो भने एउटाले अर्कोलाई दलाल भन्ने । दलाल पनि भनेको छ सँगै पनि बसेको छ’ उनले भने ।
न्यूनतम कुरा पनि मिल्दैन भने चुनाव जित्न मात्र तालमेल गर्न न हुने थापाले बताए ।
तालमेल गर्दा पार्टीहरुको जनमत पनि हेर्नुपर्ने उनले बताए । अमुक पार्टीको २ हजार मत छ, नेपाली कांग्रेसको २० हजार छ । ‘२० हजारमा २ हजार खन्याएर २२ हजार बनाउन सजिलो हुन्छ तर २ हजारमा २० हजार जोड्दा सबै जाँदैन, चुहिन्छ’ उनले भने ।




















