काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको बताउनु भएको छ ।
शुक्रबार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उहाँले स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुने पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उहाँले बताउनुभयो ।
सोही अवसरमा राष्ट्रपति भण्डारीले बृहत् स्तनपान व्यवस्थापन केन्द्र ह्युमन मिल्क बैंक ‘अमृत कोष’को पनि उद्घाटन गर्नुभयो ।
राष्ट्रपति भण्डारीले कोभिडको कठीन घडीमा पनि बिरामीहरुको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकहरुसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रशंशा गर्नु भएको छ ।
त्यस्तै सो कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले आम जनताले सेवा पाउने गरी सो अस्पतालको सेवा सबै जिल्ला र प्रदेशहरुमा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । उहाँले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेसिनहरु नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताउनु भएको छ ।
राज्यमन्त्री केसीले स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन सरकार प्रयासरत रहेको बताउनु भएको छ ।




















