काठमाडौं । नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक रामकृष्ण ढकाल धेरै पहिलादेखि सुनिदै र रुचाउँदै आएका छन् । उनै लोकप्रिय गायक ढकाल हाल क्यानाडाका विभिन्न शहरमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भइरहेका छन् ।
यहि अगष्ट २०, २०२२ अर्थात भोलि शनिबार क्यानडाको क्यालगरी शहरमा रामकृष्ण ढकाल साँझ हुँदैछ । क्यानडाको क्यालगरी शहरमा पहिलो पटक हुन लागेको रामकृष्ण ढकाल साँझ कार्यक्रम महागुरु फाल्गुनन्द इन्टरटेन्टमेन्टले आयोजना गरेको हो ।
कार्यक्रमबाट उठेको रकम नेपालमा गरिव, असहायहरुलाई सहयोग गर्ने बताइएको छ । महागुरु फाल्गुनन्द इन्टरटेन्टमेन्टका डाइरेक्टर राजेन्द्र चोङबाङका अनुसार सांगीतिक कार्यक्रमले नेपाली दर्शकहरुमा उत्साह भएको र आगामी दिनहरुमा यस्तै प्रकारको कार्यक्रमहरु हुनेछन् ।
रामकृष्ण ढकाल साँझमा क्यालगरीमा बस्ने नेपाली स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति हुनेछ र कार्यक्रममा प्रस्तुति दिने सवै कलाकारहरुलाई सम्मान पत्र दिने बताइएको छ ।
आफ्नो सांगीतिक क्षेत्रको प्रारम्भिक कालमा निकै संघर्ष गरेर सफल गायक बनेका ढकाल आधुनिक गीत गाउँछन् । गायन क्षेत्रमा एउटा अवसर पाए पछि एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित भएका हुन ।
केही हप्ता अघि क्यानडामा प्रमोद खरेल सांगीतिक साँझ कार्यक्रम आयोजना गरिएको र कार्यक्रममा उल्लेखीय दर्शकहरुको सहभागिता रहेको सुमन अधिकारीले बताएका छन् ।