काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सहमतिमा नागरिकता बिधेयकलाई नयाँ ढंगले अघि बढाउन आह्वान गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका मुख्य सचेतक बिशाल भट्टराईले नागरिकता बिधेयकमा विवाद नगरि राष्ट्रिय सहमतिका साथ अघि बढाउन आह्वान गरेका हुन ।
उनले नागरिकता बिधेयक फिर्ता भएसंगै राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको भन्दै आपत्ती जनाएका छन् । नागरिकता सम्बन्धी अध्यादेश र बिधेयक एउटै नभएकाले यस बिषयमा राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादित बनाउन नहुने उनले बताए । उनले नागारिकता नागरिकले स्वत प्राप्त गर्नुपर्ने सुविधा भएको भन्दै यसबिषयमा सिंगो मुलुकमा जनतालाई बिभाजित गर्ने गरि छलफल र चर्चा हुनु मुलुकको हितमा नरहेको धारणा राखेका छन् ।
उनले अवसरको सदुपयोग गर्दै वैवाहिक अंगीकृत नागरिकता प्राप्तिको वर्तमान व्यवस्था बदलेर कम्तिमा पनि ७ वर्षे समयसीमा राख्नुपर्ने बताएका छन् ।
भट्टराईले यसअघि लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता बिधेयक फिर्ता दिएर सरकारले ल्याएको अर्को बिधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता भएर छलफलको अर्को अवसर प्राप्त भएको बताएका छन् ।