काठमाडौं । सांसदहरुले नागरिकता विधेयकमा प्रमाणिकरणमा ढिलाई भएको भन्दै आपत्ती जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बिशेष समयमा उनीहरुले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणिकरणमा ढिलाइ गर्न नहुने समेत बताएका छन् । बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको बिधेयक प्रमाणीकरण गर्न ढिलाई गर्न नहुने बताएकी छिन् । धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या समेत गर्न बाध्य हुने अवस्था आएपनि शिर्ष नेताहरु गम्भीर हुन नसकेको उनको धारणा छ ।
त्यस्तै बैठकमा सांसद सरिता कुमारी गिरीले अविलम्व नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गरेकी छिन्् । नागरिकता नपाउँदा हजारौ युवाहरु अलपत्र परेको अस्थामा नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाई गर्न नहुने उनको भनाइ छ ।
नागरिकता विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको करिव दुई साता हुँदा पनि प्रमाणीकरण नभएपछि उनीहरुले संसदमा आवाज उठाएका हुन ।
























