काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा भए पनि जनताको आकर्षण अथाह रहेको बताएका छन् ।
नेकपा एमाले झापा काठमाडौं सम्पर्क मञ्चको तिज कार्यक्रममा शुभकामना मन्तज्य राख्दै अध्यक्ष ओलीले दैनिक पार्टी प्रवेशका कार्यक्रममा आफू सहभागी हुन नै आफूलाई भ्याइ नभ्याइ भएको बताए ।
‘अक्सर सत्तामा हुँदा दलप्रति मानिसको आकर्षण भएको देखिन्छ तर यहाँ अनौठो भएको छ । सत्ताधारी दल त्याग्दै मानिसहरुले एमाले रोज्दैछन्’ अध्यक्ष ओलीले भने ।
कार्यक्रममा संक्षिप्त सहभागी भएका अध्यक्ष ओलीले तिजको अवसरमा सम्पूर्ण महिलाहरुलाई शुभकामना दिए । उनले आजको दिन सबैले नाचगान गरेर रमाइलो गरी बिताउनसमेत आग्रह गरे ।
कार्यक्रममा अध्यक्ष ओली पत्नी राधिका शाक्य पनि सहभागी भएकी थिइन् । सो कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि भएका थिए ।

























