काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सवै निकाय प्रतिबद्ध हुनुपर्ने बताएका छन् ।
अन्तराष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारी तहबाट युवा केन्द्रित गतिविधिहरुको कार्य योजना निर्माण तथा कार्य सम्पादन कार्यभार रहेको युवा परिषद्ले पाएको भन्दै शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न राज्यका सवै निकाय प्रतिबद्ध हुनुपर्ने बताएका हुन ।
उनले युवा उद्यमशीलता विकास र युवालाई रोजगारी प्रबर्द्धन विकास निर्माणमा युवा सहभागितालाई बढाउनुपर्ने धारणा राखेका छन् । त्यस्तै उनले युवालाई जीवन उपयोगी सीप र सिकाइ स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको बताए । सरकारले उद्यमशीलता विकास र युवालाई रोजगारी प्रवद्र्धनमा विभिन्न क्षेत्रमा काम गर्दै आएको र यसलाई प्रभावकारी बनाइने उनको भनाई छ ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले देशलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउने कार्यभार युवाहरुमा रहेको बताए । उनले देशलाई विश्वको समृद्ध राष्ट्रको देशमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता रहेको र यसका लागि मुलुकको स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।
अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता भन्ने नाराका साथ अन्तराष्ट्रिय युवा दिवस मनाइएको हो । युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ ।
























