काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट भएको छ । सभामुखको सरकारी निवास लैनचौरमा उनीहरुबीच आज बिहान भेटवार्ता भएको हो ।
भेटका क्रममा उनीहरूबीच दुई देशबीको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ ।
भेटमा सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्वताको प्रशंसा गरेको बताइएको छ ।
उनले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्नुहुँदै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताएका छन् । उनले संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा पञ्चशीलको सिद्धान्त अनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
्सभामुख सापकोटाले २०७८ चैत्रमा चीनको राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष लि चाङ्सुसँग भर्चुअल छलफल भएको स्मरण गर्दै संसदीय मैत्री समूह, संसद्–संसद् बीच उच्चस्तरीय भ्रमण एवं अनुभव आदानप्रदान गरी सम्बन्धलाई अझ विस्तार र सुदृढ गर्न सकिने धारणा राखेको बताइएको छ ।
उनले नेपालको आर्थिक–सामाजिक क्षेत्रमा चीनको निरन्तर सहयोगका साथै कोभिड १९ र ठूला प्राकृतिक विपत्तिमा नेपाललाई भएको सहायताका लागि धन्यवाद दिएक छन् ।
उनीहरुबीच दुई देशबीचका व्यापारिक नाका सुचारु गराउने सम्बन्धमा पनि छलफल भएको छ ।
भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउँदै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको उच्च प्रशंसा गरेकी छिन् । उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैव दृढ समर्थन गर्दै आएको बताइन् ।
राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
























