काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमणका क्रममा नेपाली समुदायसंग बिशेष अन्तक्रिया बहस कार्यक्रम गरेको र जापानमा भएका नेपालीहरु धेरै खुसी भएको पाएको बताए ।
जापान भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले जापानको संसद भवनको अवलोकन गरेको र सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका बरिष्ठ नेतासंग छलफल गरेको र दुईपक्षिय सम्बन्धमा बारेमा चर्चा भएको जानकारी दिएका छन् ।
सो क्रममा जापानको संसदीय टोलीलाई चूनावको परिवेक्षका लागि नेपाल आमन्त्रणको निम्तो दिएको उनले बताए । उनले नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको दावी गरेका छन् ।
उनले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिले ढिलाई गर्न नहुने बताएका छन् । दाहालले नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्छ जस्तो आफुलाई नलागेको र ढिला पनि गर्न नहुने बताएका हुन । त्यस्तै उनले पार्टी पदाधिकारी पनि छिटै टुङ्गाउने जिकिर गरेका छन् ।
उनले आफ्नो चीन भ्रमणका बिषयमा पनि छलफल भइरहेको जानकारी दिएका छन् । साउन २१ गते नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा त्यसतर्फ गएका दाहाल आज फर्किएका हुन ।



















