काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले आफु सहरी विकास मन्त्रालयमा रहदा भएका निर्णयलाई अहिले उल्टाउन खोजिएको भन्दै आपत्ती जनाएकी छिन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले मन्त्रालयमा हुँदा गरेका निर्णयहरु नयाँ आएका सहरी विकास मन्त्रालय मेटमणी चौधरीले उल्टाउन थालेको भन्दै आपत्ती जनाएकी हुन ।
चौधरीले कार्यभार सम्हाले लगत्तै झांक्रीका निर्णय उल्टाउन थालेपछि झाँक्री आक्रोशित भएकी हुन । झाक्री मन्त्री हुँदा विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गर्न नपाउने निर्णय गरेकी थिइन्।
‘उपभोक्ता समिति मार्फत काम गर्न नपाइने निर्णय गराउन अर्थमन्त्रालयको नेतृत्वलाई निकै जोडवलमा सहमत गराएर बताउँदै झांक्रीले अहिले त्यो निर्णय उल्ट्याउनु गलत भएको बताएकी छिन् ।
उनले भनेकी छिन् ‘आफुले बसाएको थिती कसैले चुनाव जित्नका लागि उल्टाउँछ भने चित्त दुख्छ। दुःख गरेर बसाएको थिती बिगार्दा देशलाई फाइदा पुग्दैन ।’
नेतृ झाक्रीले जुनसुकै मन्त्रीले पनि राम्रा काम गरेको छ भने त्यसलाई निरन्तरता दिनुपर्ने बताएकी छिन् । उनले एउटै पार्टीमा रहेका व्यक्तिबीचको बिचार फरक हुनसक्ने भन्दै आफ्नो कामको जिम्मा दिने तर अर्काको कामको जिम्मा नलिने तर्क गरेकी छिन । उनले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमा काम गरेको भन्दै बिकास निर्माणका बिषयमा बिभिन्न नीतिहरु परिमार्जनको प्रयास गरेको बताएकी छिन् ।
झाँक्रीले असारको अन्तिम समयमा बजेट सिध्याउनका लागि काम गर्दा त्यसको गुणस्तरमा कमी आएको र यस बिषयमा पनि आफु मन्त्रालयमा रहदा सार्वजनिक खरिद प्रक्रियामा जोड दिएको धारणा राखेकी छिन् ।
पार्टी सचिव समेत रहेकी झाक्रीले पार्टी अध्यक्ष माधव कुमार नेपालले गरेका कामको पनि आलोचना गरेकी छिन् । गत १६ साउनमा अध्यक्ष नेपालले रौतहट पुगेर टाउन हल, विवाहको भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडक लगायत करिब ४२ करोडका आयोजना शिलान्यास गरेका थिए । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा झाँक्रीले बिनाबजेट, बिनायोजनाका विकासको काम शिलान्यास गरेको भन्दै अध्यक्ष नेपालको आलोचना गरेकी छिन् ।
पार्टीकी सचिवसमेत रहेकी झाँक्रीले अध्यक्ष नेपालको आलोचना गरेपछि मेटमणि चौधरीले नेतृत्व गरिरहेको सहरी विकास मन्त्रालय समेत यो विषयमा जोडिएको छ। माधव नेपालसँगै रौतहट पुगेका मन्त्री चौधरीले मन्त्रालयका प्रवक्तामार्फत विज्ञप्ति नै निकालेर रामकुमारीको अभिव्यक्तिको खण्डन गरेका छन् ।