भैरहवा । प्रमुख प्रतिपक्षी दल एमालेका महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता सम्भव नभएको बताएका छन् ।
एमाले जिल्ला कमिटी रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताए । उनले भने-‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ ।
अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने उनको भनाइ छ । एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उनले बताए ।
एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै रहेको उनले बताए ।
महासचिव पोखरेलले संक्रमणलाई लम्ब्याउने काम भइरहेको र त्यसको नेतृत्व पाँचदलीय गठबन्धनले गरेको आरोप पनि लगाए ।
लुम्बिनी प्रदेशका पहिल मुख्यमन्त्रीसमेत भइसकेका पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको दाबी गरे । उनले एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताकामाझ लैजानुपर्नेमा जोड दिए ।
पार्टीविरुद्धको घेराबन्दी एमाले नेतृत्वले गरेको राम्रा कामको परिणाम भएको उनको दाबी थियो । जनतामाझ एमाले लोकप्रिय भएकाले पाँचदलीय गठबन्धनले गठबन्धन गरेको उनले बताए ।