काठमाडौं । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन भएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले यस्तो धारणा राखेका हुन् । पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउनेमात्रै उद्देश्य राखेको उनको टिप्पणी थियो ।
केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाइएको गुनासो गरे ।
निर्वाचन घोषणा भएकोमा खुशी व्यक्त गर्दै केसीले भने- ‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताहरुले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्यौल थियो । प्रचण्डले मंसिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरु भरलाग्दा छैनन् । जेलझाल गर्छन् कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’
केसीले यो बीचमा गठबन्धनवालाहरुले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि स्मरण गरे । उनले भने- ‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु कि प्रतिगमन भन्ने वस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनका लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’
केसीले अहिलेको राजनीतिको प्राप्तिको अवरोध भनेको नै ओली हो र उसलाई ठेगान नलगाउँदा पाँच दलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरु लागेको सुनाए । उनले भने, ‘अहिले गठबन्धनका नेताहरुले एमालेलाई पूर्णतः किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेको हो । गठबन्धन गर्नको लागि उनीहरु दृढसंकल्प थिए । यसमा आश्चर्य छैन ।’
न्यायपालिका, व्यवस्थापिक र कार्यपालिका शक्ति सन्तुलनका लागि आधारमा गठन भएको स्मरण गराउँदै उनले भने,‘अहिले त देशको सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गदै हिँड्ने काम भएको छ । गठबन्धन अपरिहार्य छ । यो गणतन्त्र, संघीयताका लागि केपी ओली १४ वर्ष जेल बसेका हुन् । झापामा टाउका काटे भन्ने इत्यादी कुरा पनि सुनेका छौं । ओलीले यी तीन वटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं ।’