काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने कुराप्रति टिप्पणी गर्दै गठबन्धन गरेर आउनेलाई हराउनैपर्ने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै दिक्षितले यस्तो बताएका हुन् । उनले भने,‘कहीँ माओवादी र विपीको सिद्धान्त मिल्छ ? कुन नाक र मुखले अहिलेको गठबन्धनले यो काम गरिरहेको छ ? यिनीहरुमा लाचारीपन छ, एक्लै जित्न सक्दिनँ भनेर उनीहरुले गठबन्धन गरेका हुन् । प्रचण्ड भन्छन्–देउवा नजिताएसम्म म जित्दिनँ । माओवादी सेकेण्ड पार्टी हुनैपर्छ पनि भन्छन् । यो त गैरसिद्धान्तवादी कुरा हो । लोकतन्त्रमा यस्तो पनि हुन्छ ? गठबन्धन केका लागि, यिनीहरु प्रधानमन्त्री बन्नको लागि ? लुट मच्चाउनका लागि ? नेपाली जनताले गठबन्धन बनाएर आउनेलाई हराउनैपर्छ । कुनै पनि हालतमा जिताउनुहुँदैन । जिताए भनेदेखि यो मुलुकको राम्रो हुनेवाला छैन ।’
उनले सिद्धान्तमा नचलेपछि मुलुक राम्रो नहुने जिकिर गरे । उनले भने, ‘यो अब अन्तिम चेतावनी हो । यो सिस्टम अन्तिम ट्रायलमा छ । सही व्यक्तिलाई जिताउन सक्यौं र सही व्यक्ति प्रधानमन्त्री बनाउन सक्यौं भने ठीक छ, यदि यसो गर्न सकेनौं भने व्यवस्था जान्छ । अर्को कू हुन्छ । अहिलेका नेताहरुले नै देशलाई यस्तो अवस्थामा पु-याएका छन् ।’
दिक्षितले एमाले अध्यक्ष ओलीको प्रशंसा गरे । उनले भने,‘ओलीजीले बरु सिद्धान्त लिएका छन्, उनले पार्टीलाई एकढिक्का बनाएका छन् । उनी एउटा पार्टी र एक सिद्धान्त बोकेर हिंडेका छन् । नेपाली जनताले वीरतालाई पूजा गर्छन् । अहिले पनि ओलीले एक्लै म जित्छु भनेर भनेका छन्, उनको बोली स्पष्ट छ । ओलीको बोलीलाई जनताले पूजा गर्छन् ।’
दिक्षितले गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको भने कडा आलोचना गरे । माधव नेपालले गठबन्धनको विरोध पनि गरेको र निर्वाचनपछि पनि गठबन्धन चाहिन्छ भनेर बोलेको भन्दै यो कुरा कहाँ मिल्यो ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘हेर्नुहोस, माधव नेपाल गठबन्धनले धोका दियो पनि भन्छन्, अनि गठबन्धन नभई हुँदैन पनि भन्छन् । यो त दुईजिब्रे कुरा हो । यो लाचारीपन हो । कांग्रेस पार्टीले आफ्नो त्यो इतिहास बिर्सियो । नेताहरुले आज हामी हार्छौं भनेर गठबन्धन गर्नुपरेको बोल्न थालेका छन्, कांग्रेसले त यतिसम्मको लाचारीपन, लुतेपन देखाएको छ । देउवामात्रै होइन, गगन थापा, शेखर कोइराला, विश्वप्रकाश सबै, यिनीहरु पहिले हामी गठबन्धनमा जानुहुँदैन भन्थे । अहिले स्थानीय तहको निर्वाचनपछि त गठबन्धनबाट जानुपर्छ भन्न थाले ।’
मुलुकमा लोकतन्त्र बचाउन र अर्को कू नगराउने हो भने कुनै पनि हालतमा गठबन्धनबाट आउनेहरुलाई जिताउन नहुने उनको तर्क छ । दिक्षितले भने,‘यदि गठबन्धनबाट कोही आउँछ भने त्यसलाई हराउनैपर्छ । चुनावमा तालमेल वा सिट बाँडफाँड गरेर आउ, मेरो आपत्ति छैन । हामीले चाहेको संघीयता यस्तो होइन ।’ उनले देश खत्तम पार्ने नेताहरुलाई भोट दिन नहुनेमा जोड दिए ।