दाङ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले एमालेको निरन्तर दबाबका कारण गठबन्धन सरकार निर्वाचनको मिति तोक्न बाध्य भएको बताएका छन् ।
प्रेस चौतारी दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व–सभामुख नेम्वाङले यस्तो बताएका हुन् । उनले निर्वाचनको मिति घोषणा हुनु खुसीको कुरा भएको बताए ।
उनले अहिलेको परिस्थितिमा नेकपा एमालेसँगै एक्लै भिड्न सक्ने हैसियत कसैको पनि नभएको बताए । ‘सत्ता गठबन्धन नै एमालेको विजयको आधार सुनिश्चित हुनु हो,’ नेम्वाङले भने- ‘एमालेविरूद्ध गठबन्धन नगरी लड्न सकिँदैन भन्ने अवस्थामा नेपाली कांग्रेस लगायतका दलहरू पुग्नु नै एमालेको विजयको आधा आधार तयार हुनु हो।’
उनले आगामी निर्वाचनबाट मुलुकमा उत्पन्न धेरै गतिरोधहरू किनारा लाग्ने बताउनुभयो । विद्यमान अन्यौलको परिस्थितिमा सबै कुराको छिनोफानो गर्न तागत जनतासँग भएको भन्दै उनले एमालेविरुद्ध गठबन्धन बन्नु नै एमालेको जितको आधार भएको बताए ।

























