काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आबद्ध राजनीतिक दलहरुको आ–आफ्नो सिद्धान्त भएको बताए ।
उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरित हुने बताए । उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए ।
नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहिन दिशातर्फ धकेल्ने बताए । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडि बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ ।
उनले नेकपा (एमाले) को समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे ।