काठमाडौँ । सत्तारुढ पाँच दलले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदल बनाउने भएका छन् ।
सत्ता गठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकले कार्यदल बनाएरै दुवै सभाको उम्मेदवारका लागि सिट बाँडफाँट गर्ने निर्णय लिएका हुन् ।
बैठकले सत्ता गठबन्धनमै तालमेल गर्ने र चुनावमा केन्द्रित हुने निर्णय गरेको छ । त्यसैगरी पाँच दलभित्रैका दुई दलहरुबीच मात्रै गठबन्धन गर्न सकिने गरी बैठकले सहमति जुटाएको सहभागी एक नेताले बताएका छन् ।
स्रोतका अनुसार सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनेको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।
कार्कीले भने कार्यदलबारे केही बताएनन् । यसबारे विस्तारै थाहा दिने भन्दै कांग्रेस केन्द्रीय सदस्य कार्कीले भने, ‘तालमेलका निम्ति फेरि बैठकहरू बस्छ, छलफल हुन्छ । यसलाई व्यवस्थित र न्यायपूर्ण गर्न आज वृहतरुपमा सहमति भएको छ ।’