काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिए पनि अझै शुरु हुन नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँट गर्न कार्यदल गठन गर्ने एक नेताले बताए ।
कार्यदलले सिट बाँडफाँटको मोडालिटी तयार गरेपछि त्यसैअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा सिटको भागवण्डा गर्ने बताइएको छ। गठबन्धनका दलहरुबीच अघिल्लो निर्वाचन जितेका क्षेत्र सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका क्षेत्रमा भागवण्डा गर्ने मोटामोटी सहमति छ।
प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन् । जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागबण्डा लगाउने मनस्थिति बनाएको छ। तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन् । प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन्।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बिहीबार एक कार्यक्रममा आउने प्रदेशसभा र प्रतिनिधसभाको चुनावमा अहिलेको गठबन्धन नै कायम रहने भन्ने घोषणा गर्ने तयारी रहेको बताएका थिए । बैठकपछि चुनावमा पनि गठबन्धन कायम नै रहने घोषणा गर्ने तयारी रहेको छ ।

























