काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद डा. भीम रावलले सरकार विदेशीलाई पहिलो प्राथमिकतामा राख्ने र विदेशीसामु लम्पसार पर्ने स्थितिमा रहेको भन्दै सरकार लोकतन्त्रविरोधी काम गर्नेतर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरुलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको बताए । उनले एसपीपीको बारेमा अमेरिकालाई पठाएको पत्र अमुक देशका राजदूतावासका कर्मचारीले पढ्न पाउने तर देशका जनताका प्रतिनिधिलाई दुरुपयोग गर्छन् भनेर नदिनुले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको बताए ।
सांसद रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए ।
सांसद रावलले जनताका प्रतिनिधिलाई अविश्वास गर्ने र परराष्ट्रमन्त्रीले अमेरिकालाई एसपीपीमा सहभागी हुन्नौ भन्ने पत्र सांसदले माग्दा सरकारप्रति अविश्वास गर्ने भन्दै प्रश्न गरेको भन्दै सरकार नै जनताप्रति र संसदप्रति जवाफदेही नभएको आरोप लगाए ।
उनले सरकारप्रति धेरै अविश्वास रहेको उल्लेख गर्दै उल्टो तर्क दिएर सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।
उनले भने, ‘परराष्ट्रमन्त्रीले एसपीपीको पत्र पठाइसकेको भनेर जवाफ दिएको कुरा सुनेको थिएँ त्यसपछि पत्र माग्दा उहाँले पत्र पठाइसकेपछि सरकारसँग पत्र माग्ने कुरा कताकता अविश्वास ? एशिया महादेशमा पनि नयाँ द्वन्द्वको अवस्था सिर्जना भएको छ । यस्तो स्थितिमा हाम्रो देशका प्रधानसेनापति राज्य साझेदारी कार्यक्रममा जाने कुराले द्वन्द्वतिर धकेल्दैन । यो संविधान अनुकुल छ ? यस्तो कुरा आखिर यो सरकारले किन गरिरहेको छ ? यसले नेपाललाई द्वन्द्वको भुमरीमा धकेल्छ ।’

























