काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् ।
तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले जनार्दन शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भीषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।
भ्रष्टाचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी फेरि अर्थमन्त्री बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकिरसमेत गरे ।
‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताए ।
उनले भने, ‘मैले उहिले पनि भनेको थिए–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर । तर यस पल्ट त गोरु पनि लजाउने काम सरकारले ग-यो । गोरु आफै लजाउने । भ्रष्टचारको केश लाग्या छ, छानविन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानविन गर्न दिएकै छैन । छानविन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सिसीटिभी फुटेज मेटाइएको छ ।’
अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने बताए । उनले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वानसमेत गरे । दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले पार्टी एकता नै गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरे । देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेततापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वाससमेत व्यक्त गरे ।