काठमाडौं । संघीय संसद अन्तर्गत आज मंगलबार प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
मंगलबारको बैठकमा प्रतिनिधि सभामा उत्पत्ति भएको ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘शपथ सम्बन्धी विधयेक, २०७९ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तथा देउवाले नै राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित ‘तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ ।
मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘स्टाण्डर्ड नाप र तौल (पाँचौं संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।




















