काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएका छन् ।
ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति प्रक्रिया भाँड्ने, देशलाई पुनः द्वन्द्वमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’
३५ दिनभित्र अदालतमा उपस्थित हुन जनाएको ललितपुर अदालतले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि लागेका मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएको भन्दै ६ साउन ०७९ को आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीबाट विद्रोही गर्दै सशस्त्र द्वन्द्वमा फर्किएका चन्द समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एकजनाको ज्यान गएको थियो ।
देशभरि यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरि उजुरी परेका छन् । तत्कालीन केपी ओली नेतृत्वको सरकारमार्फत् शान्ति प्रक्रियामा आए पनि उनीहरूविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन् ।


























