काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन् ।
निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवं ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तक्रिया कार्यक्रममा उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाई सम्बोधन गरिने जानकारी दिए ।
“वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उनले भने ।
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताए ।
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा निगरानी दैनिककी अध्यक्ष निर्मला दङ्गाल खनालले निगरानी दैनिकले स्वच्छ, निर्भिक र निष्पक्ष तवरले पत्रकारिता गर्दै आएको बताउँदै आगामी दिनमा पनि सोहीअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

























