बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन कायम रहेसम्म देशको सबै क्षेत्र अस्तव्यस्त हुने दाबी गरेका छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७८-७९ का विजयी खेलाडीहरूको सम्मानमा आइतबार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।
यो गठबन्धनलाई मुलुकभन्दा पनि सत्ता कसरी जोगाउने भन्ने कुराको मात्र चिन्ता रहेको भन्दै उनले राष्ट्रिय हितको रक्षा, मुलुकको विकास र समृद्धिको एजेण्डामा गठबन्धनको कुनै चासो नरहेको बताए ।
उनले भने- “सत्ता गठबन्धनका कारण मुलुकको सबै क्षेत्र अस्तव्यस्त छ, महंगी र भ्रष्टाचार बढेको छ, शिक्षा, स्वास्थ्य, खेलकुद जताततै अस्तव्यस्तताको अवस्था छ।” उनले अगाडि भने- “तर गठबन्धनलाई सत्ता कसरी जोगाउने भन्ने मात्र चिन्ता छ ।”
उनले मुलुकलाई सही दिशा निर्देश गर्ने र ठिक ढंगले नेतृत्व गर्ने पार्टी एमालेबाहेक अरू नभएको दाबी पनि गरे । एमाले सरकारबाट हटेपछि देशमा देखिएको बेतिथिले पनि एमालेबाहेक अरूले नेतृत्व गर्न नसक्ने कुराको पुष्टि हुने पनि उनले बताए । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा रुपन्देहीबाट स्वर्ण, रजत र काश्यपदक विजेता खेलाडीलाई सम्मान गर्दै पूर्व खेलकूदमन्त्री समेत रहनुभएका पौडेलले खेलाडी राष्ट्रका गहना नभई आधारस्तम्भ रहेको बताए । खेलाडीहरूको समस्यामा हरेक समय साथ दिन एमाले तयार रहेको र उनीहरूका मुद्दा सम्बोधनका लागि निरन्तर क्रियाशील रहने पनि पौडेलको भनाइ थियो ।




















